"बिनय केइ छुट्यो कि, माथि गएर हेरेर आइजे त", भर्खरै त खाट गाडीमा लोड गरेको फेरि काम आराइ हालिन। यो आमाहरुलाई काम अराउनु बाहेक अरु के चाइ आउँछ हौ। पुरानो सिढी चड्दै पुगे तेइ कोठामा भित्ता भरी टाटे पाङ्ग्रे, एकातिर चुलो को कालो दाग त्यो बाहेक केहि देखिन। फरक्क फर्केको ढोका पछाडी चित्र टासेको देखे। एउटा घर तेस्को छेउमा चार पाटे तीन जना मान्छेका आकृती, म आमा बुवा अनि हाम्रो घर...
बचपन देखिको मेरो घर (डेरा) लाई अन्तिम बिदाई गर्दै तल झरे। " केइ छुट्या रैछ कि के?" आमा गाडीको अगाडि बाट कराउनु भो। म गाडीको पछाडी झुन्डिदै "छैन छैन जाउ" भने। गाडी अगाडि बड्दै गर्दा फर्केर त्यो घर लाई हेरे, आफ्नो आधा बचपन बिलाउदै गैरहेको देखे। खै किन हो खल्लो लागिरहेको थियो, मन न हो हिजो सम्म कहिले छोडुला त्यो डेरा भैराखेको थियो, अहिले चटक्क छोड्दा भने अर्कै लाग्ने। मान्छे को मन घाममा चिसो प्यारो, चिसोमा घाम क्या छ यो मन..
पहाड बाट पैसो को बिटो कमाउन निस्किनु भाको मेरा आमा र बुवा, आज २७ बर्ष भैसक्दा नि पैसाको बिटो कमाउन निस्किरनु भैराछ। बुवा त यो २७ बर्षमा २ बर्ष पनि साथमा देखिन, खै आकल झुकल देख्थे आमाले बुवा भन्नू हुन्थ्यो ए होला सोच्थे सक्यो। पछिल्लो १० बर्षमा एक चोटि पनि बुवा सङ्ग भेटघाट भाको छैन, कहिले काहीँ आमालाई फोन गर्नु हुन्छ रे तेसैमा सन्तोष। फेसबुक सेसबुक होला नि भन्ने सवाल नगरेको हैन, चलाउन आउदैन तेती जवाफ आएसी के कुरा कोट्याइरनु। हुन त बुवा के कस्तो हो थाहै थिएन र छैन तेइ भएर तेती चासो हुन्न।
खै कानको रिङ्ग बेचेर उडाउनु भाको रे साउदी मा बुवालाई आमाले, आज सम्म त्यो रिङ्ग फिर्ता भएको छैन। सायद साउदीबाट नेपाल पैसा आइपुग्न ढिलो हुदो हो। भलै मान्छे २ चोटि आउनु भैसक्यो तर पैसा आइपुग्न चाई ढिलो हुने रैछ। हुन नि हो नि मान्छे को त खुट्टा छ, उ ठम ठम हिडेर अझ चाह्यो भने दौडेर आइपुग्न सक्छ तर बिचरा पैसाको त खुट्टा नै छैन घिस्रेर आइपुग्न समय लाग्दो हो।
२१ बर्ष देखिको अन डिफिटेड थुन्चे मास्टर हुन मेरी आमा। रोडा, सिमेन्ट, बालुवा, इट्टा ओसार पसारमा माहरथी हासिल गर्नु भाको छ आमाले। एक तल्ले देखि १० तल्ले घर बनाइ सक्नु भयो मेरो आमाले तर आफ्नो हैन अरुको। डेरा मै आदि जिन्दगी कटाउनु भाको आमा छत्ती पिट्दै भन्नू हुन्छ " एक दीन आफ्नो घर यो सहरको बिचमा ठड्याउने हो " म हो मा हो थप्छु अझै हौसेर भन्नू हुन्छ " अनि मान्छे राख्ने हो डेरामा अनि महिनै पिच्छे भाडा उठाउने हो "
गाडी आइपुगेछ नया घरमा, अह.. हाम्रो आफ्नै घर हैन खाली डेरा मात्र सरेको। कहाँ यति चाडै सपना पूरा हुन्छ त? सजिलै चाडै पूरा भएको सपना कहा सपना हुनु र? अझै मेरी आमाको महारथी प्रदर्शनको म्याद बाकी छ, बुवा ले साउदी बाट पठाको हरियो नोट आउन बाकी छ, अझै मेरो त सुरुवात नै बाकी छ....